कांग्रेस महाधिवेशनको प्रक्रिया १८ गतेबाट सुरु हुने
काठमाडौं, भदौ १६ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरु हुने बताएका छन्।
बुधबार प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ हुने बताए।
उनले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आबद्ध पदाधिकारीहरूले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपिल गरे। महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनुपर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनुपर्ने कर्तव्य नेपाली कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे।
१८ गतेबाट महाधिवेशन सुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै दुईवटा जटिलता रहेको उनले बताए।
प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रूपले १४औँ महाधिवेशनमा प्रवेश गर्दै छ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उद्घाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ, तर नेपाली कांग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदै गर्दा केवल केन्द्रीय महाधिवेशनको उद्घाटन दिन मात्रै होइन, एकसाथ देशभरका वडाहरूको अधिवेशन जुन दिन सुरु हुन्छ, त्यो दिन नेपाली कांग्रेस पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ भएको हुन्छ र भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदै छ ।’















प्रतिक्रिया दिनुहोस्