ओलीसँग सम्बन्ध सुधार्दै प्रधानमन्त्री देउवा

काठमाडौं, भदौं १६। सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ । ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका छन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्मका विषयमा कुराकानी गरेका छन् ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो । मन्त्री कार्कीले ओलीकै निवासमा पुगेर छलफल गरेका हुन् । त्यसअघि कार्कीले हिजो दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए । अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन ।

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ । सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ । नेम्वाङले सत्तापक्षले छलफलको थालनी गरे तापनि त्यो अब कसरी अघि बढ्छ हेर्न भने बाँकी नै रहेको बताए ।

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सामान्य छलफल समेत नगरेको भन्दै प्रतिपक्षी रुष्ट थियो । त्यसअघि ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि ओली र देउवाबीचको सम्बन्ध बिग्रिएको थियो ।

त्यसपछि कांग्रेस नेताले देउवाका तर्फबाट ओलीलाई औपचारिक रुपमा पहिलो पटक भेटेको नेम्वाङले बताए। उसो त देउवा प्रतिपक्षी दलको नेता र ओली प्रधानमन्त्री हुँदा यी दुई नेताबीचको सम्बन्ध सुमधुर नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्