सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे नेकपा एकीकृत समाजवादी
काठमाडौँ, भदौ १५ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।
यता नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन्
नयाँ पार्टी रोज्नका लागि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समयसीमाभित्र अन्य केही सांसदले पनि सनाखत गर्ने जनाइएको छ । यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेको भएपनि नयाँ पार्टी दर्ता भएपछि अंक गणित फेरबदल भएको छ ।
एमाले उपाध्यक्ष भीम रावलले माधव नेपाल पक्षको साथ छाडेपछि केही सांसदहरु एमालेमै रहने निर्णयमा पुगेको बुझिएको छ । निर्वाचन आयोगले नयाँ पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेको छ ।
आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ















प्रतिक्रिया दिनुहोस्