कांग्रेस पौडेल समूह बैठक : एकताबद्ध भएर महाधिवेशनमा भाग लिन नेता कार्यकर्ताहरुलाई आह्वान
काठमाडौं, भदौ १५ । कांग्रेसको आसन्न महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एकताबद्ध भएर भाग लिन देशभरका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
काठमाडौँमा बोहराटारस्थित नेता पौडेलको निवासमा बसेको समूहका शीर्ष नेताहरु सहभागी बैठकले
यस्तो आह्वान गरेको हो । महाधिवेशनमा सिंगो टिमबाट एकताबद्ध भएर सहभागी बन्नुपर्ने र पार्टीको केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पुग्न सकिने भन्दै नेता कार्यकर्तालाई यस्तो आह्वान गरिएको बताएको छ।
बैठकमा टिमका तर्फबाट एक जनामात्रै केन्द्रीय सभापतिको उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए । साथै बैठकमा महाधिवेशनको तयारी र अर्को मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको केसीले बताए ।
यता टिमका तर्फबाट उम्मेदवार चयनका सन्दर्भमा भने नेताहरुबीच सहमति जुटेको छैन । त्यसबारे छलफल गर्न बुधबार पुनस् बैठक बस्ने भएको छ ।
बैठकमा आसन्न महाधिवेशनका सभापतिका आकांक्षीहरू वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत तथा केन्द्रीय सदस्यहरु शेखर कोइराला र बलबहादुर केसी सहभागी थिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा समेत नेताहरुबीच छलफल भएको थियो । बैठकले मन्त्रिपरिषद् विस्तार गर्दा पौडेल समूहको तर्फबाट पनि उपयुक्त सहभागिता गराइनुपर्ने विषयमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया दिनुहोस्