मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी अल्पमतमा

काठमाडौं, भदौ १५ । नेकपा एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएकी छन्।

५५ जना सांसद रहेको सो प्रदेशका १२ जना सांसदहरुले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि अष्टलक्ष्मी अल्पमतमा परेकी हुन्।

नेकपा एमालेबाट प्रदेश सभा सदस्य भएका उनीहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्।

प्रदेश सांसद लक्षमण लम्सालका अनुसार निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय पुगेर १२ जना एमाले सांसदहरुले नेकपा एसको पक्षमा सनाखत गरेका हुन।

लम्सालका अनुसार प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

नेपाल पक्षले बागमतीमा नयाँ पार्टीको पक्षमा सनाखत गर्नेहरु १४ देखि १५ जना पुग्ने दाबी गरेको छ। खनाललाई मुख्यमन्त्रीमा नियुक्त भएकै दिन अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएकी थिइन्।

१२ जना सांसद एमाले छाडेर नेकपा एसमा लागेपछि शाक्यको सरकार अब स्पष्ट अल्पमतमा परेको छ। अल्पमतमा परेपछि उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ।

बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शाक्यक आफ्नो पक्षमा नखुलेमा हटाउनुको विकल्प नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्