आजको बैठकले पनि लगाउन सकेन मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको टुङ्गो
काठमाडौं, भदौं १५ । आज पनि सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन सकेन । मंगलबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले टुङ्गो लगाउन नसकेको हो ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ ।
बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपस्थित थिए ।
सत्ता सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भए पनि ठोस निर्णय लिन नसकेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार केहि दिन ढिलाइ हुने भएको छ ।
देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ ।
अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् । बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन् । सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ ।
निर्वाचन आयोगले एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा ९एकीकृत समाजवादी० लाई दलको मान्यता दिएकाले मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सहज भएको नेताहरुको दाबी छ । अधिवेशन अन्त्य गरेर देउवा सरकारले राजनीतिक दल विभाजनमा खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरिसकेको छ । सोही अध्यादेशमा टेकेर एमालेबाट माधव नेपाल र जसपाबाट महन्त ठाकुर अलग भई नयाँ दल गठन गरिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्