६ वर्षपछि दशरथ रंगशालामा भिड्दै नेपाल र भारत

 

काठमाडौँ , १५ भदौ । दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा साफ च्याम्पियनसिप हो । सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइरहेका छन्।

१२ मध्ये भारतले ७ पटक उपाधि जितेको छ । माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक एक उपाधि जितेका हुन् ।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।

नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्।

साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ। सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ नेपाली टिमले तयारी गरिरहेको छ। अहिले पोखरामा रहेको नेपाली टिम केही दिनपछि साफको तयारीका लागि कतार जाँदैछ। नेपाली टिम कतारबाट सिधै माल्दिभ्स पुग्ने कार्यक्रम छ।

त्यसअघि नेपालले साफको सबैभन्दा सफल टिम भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी बिहीबार र आइतबार हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ। दुवै टिमले यी मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन्।

नेपाली टिमले पनि भारतीविरुद्धको खेललाई साफ च्याम्पियनसिपअघिको अवसरको रुपमा लिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफअघि भारतविरुद्ध खेल्दा फाइदा पुग्ने उनले बताए ।

छिमेकी प्रतिद्वन्द्वनी नेपाल र भारतबीच सन् १९८५ मा पहिलो प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन्।

ती १९ मध्ये भारतले १३ खेलमा जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्। भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ।

पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २.० गोलले विजयी भएको छ।

दुई टिमबीच दशरथ रंगशालामा २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्