मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

काठमाडौँ , १४ भदौ । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ ।

गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

आइतबार मात्रै मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्