एमाले र जसपा प्रतिनिधिले भदौं २२ गतेसम्म दल रोज्न पाउने

काठमाडौं, भदौं १३ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

आयोगले नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यले २१ दिनभित्र निर्वाचन आयोगमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ ।

दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिने छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा (स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको बैठकले यस्तो निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्