एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत, भने- तत्काल कुनै पार्टीसँग पनि एकता गर्दैनौं

काठमाडौं, भदौं १३ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यसैबीच अध्यक्ष नेपालले अहिले नै कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । उनले अहिले नै यस्तो सम्भव नरहेको पनि स्पष्ट पारेका छन् ।एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टीको पहिलो संसदीय दलको बैठकलाई आइतवार बानेश्वरमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘देशभरी हाम्रो संगठन बनिसकेको छ । अहिले नै कुनै पार्टीसँग हामी एकता गर्न गइरहेका छैनौं’, नेपालले भने, ‘हामी कसैको टाङमुनि छिर्न जाँदैनौं । हामी अरु पार्टीको कार्यकर्ता हुन जाँदैनौं ।’ नेता नेपालले आफ्नो पार्टीको संगठन देशभरी रहेको बताए । ‘हाम्रो संगठन देशभरी छ, जिल्लादेखि गाउँ, वडा र टोलसम्म हाम्रो संगठन बनिसकेको छ’, नेपालले भने, ‘हाम्रो उपस्थिति टोल टोलमा रहेकाले त्यसबाट हामी संगठन बलियो बनाउँछौं ।’

सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्। उनले भने, ‘पार्टीभित्र लोकतान्त्रिक पद्धति स्वीकार्दै अगाडि बढिनेछ। मुलुक र जनतको हितका लागि क्रियाशील भइनेछ।’

उनले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्