झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै
काठमाडौँ , १३ भदौ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् ।
मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए।
स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।
औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्