प्रधानन्यायाधीशलाई संवैधानिक इजलाश छाड्न रिट निवेदकको दबाब, राणाले भने- गैरकानूनी भए प्रमाण ल्याउनुस्
काठमाडौं , भदौ ११ । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न भन्दै परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलोन्द्र शमशेर राणालाई नबस्न निवेदकले आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश राणाको अध्यक्षतामा गठित इजलाशमा सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन राणा पनि जिम्मेवार भएकाले इजलाशमा बस्न नमिल्ने जिकिर गरेका हुन् ।
अध्यादेश आएको मात्र नभई संवैधानिक निकायहरुका नियुक्तिमा प्रधानन्यायाधीशले भागबण्डा लिएर आफ्ना मान्छे नियुक्त गराएकाले इजलाश छाड्नुपर्ने अर्यालको भनाइ रहेको थियो ।
संविधान अनुसार संवैधानिक इजलासको अध्यक्ष प्रधानन्यायाधीश हुनुपर्ने भए पनि बिदा बसेर राणाले बाटो खुलाइदिनुपर्ने सुझाव दिँदै अर्यालले भने , ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनमा श्रीमान्को पनि भूमिका देखियो । संवैधानिक इजलास विज्ञ रामकृष्ण तिमल्सिनालगायतका व्यक्तिहरू पनि जोडिए र नियुक्ति भयो । यसमा उहाँका नातागोता पनि परेका छन् । न्यायिक प्रतिष्ठानमा कार्यकाल नसकिँदै अर्को नियुक्ति भएको छ । जब प्रधानन्यायाधीश भागबण्डामा सामेल हनुुभयो त्यसैले उहाँले यो मुद्दा हेर्न मिल्दैन ।’
अर्यालले इजलाशमा नबस्न गरेको आग्रहको जवाफमा प्रधानन्यायाधीश राणाले भने गैरकानूनी भए आधार देखाउन नत्र भागबण्डाको कुरा नल्याउन भने ।
संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएकाले व्यक्तिलाई आरोप लगाउन नमिल्ने भन्दै प्रधानन्यायाधीश राणाले भने , ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’















प्रतिक्रिया दिनुहोस्