देशभर वर्षा : कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते

काठमाडौं, भदौ ११ । काठमाडौं लगाएत देशभर पानी परिरहेको छ । लगातारका वर्षापछि देशका विभिन्न ठाउँहरु जलमग्न भएका छन् । यसैबीच उता कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् ।

पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए ।

कर्णाली नदीको बहावले टीकापुर नगरपालिका-५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ।

यता अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा लम्कीचुहा नगरपालिकामा दुईजना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका-३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै अविरल वर्षापछि गोदावरी नदीले कटान गरेर गोदावरी नगरपालिका-४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टीनले छाएको एक कोठे किराना पसल र प्रतिक्षालय बगाएको छ ।

गोदावरी नगरपालिका-१२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५- ६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्