आलमको निवेदनमाथि आज पनि सुनुवाइ भएन
काठमाडौं, भदौ ११ । रौतहट बम विष्फोट तथा ज्यान मार्ने उद्योगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिए पनि आज सुनुवाइ हुन नसेकेको हो । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो ।
विपक्षीका कानुन व्यवसायीहरुको माग बमोजिम सर्वोच्चले आलमको मुद्दाको सुनुवाइ स्थगित गरिदिएको हो । यसअघि पनि यो मुद्दाको पेशी तोकेर सुनुवाइ सर्दै आएको थियो ।
केही स्थानीयलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको घटनामा जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।
जिल्ला र उच्च अदालतले थुनामै राखेर मुद्दाको किनारा लगाउन आदेश दिएपछि उनी सर्वोच्चमा पुगेका थिए । जहाँ उनले थुनामुक्त गरेर मुद्दाको अन्तिम सुनुवाइ गर्न माग गरेका छन् । आलम अहिले ललितपुरको नख्खु कारागारमा छन् । उनको मुद्दा जिल्ला अदालत रौतहटमा विचाराधीन छ ।
कोभिड–१९ को महामारी जेलभित्र समेत बढेको भन्दै रिहाइ हुनुपर्ने माग उनले रिटमा गरेका छन् । २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको निर्णयविरुद्ध २०७६ पुस २८ गते उच्च गएका थिए । उच्च अदालतले पनि आलमलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो ।
त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या, सफी अहमदलाई बम विष्फोट गराई घाइते भएको ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । यी सबै मुद्दामा उनलाई ४५ वर्ष कैदको माग गरिएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुरमा बम विष्फोट भएको थियो । त्यही विष्फोटमा मारिएका र घाइते नागरिकहरुलाई इँटाभट्टामा हालेर जलाएको गम्भीर अभियोग उनीमाथि छ ।















प्रतिक्रिया दिनुहोस्