झरही खोलाको बाढीले परासी बजार डुबानमा
काठमाडौँ , ११ भदौ । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।
बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं.१ को सहुवाटिकर, वडा नंं.२ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं.३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं.५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं.६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए ।
सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ । वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए । घर भित्रै बाढी पसेका कारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएको परासीका स्थानीय बासिन्दा बताउछन् ।
प्रतिक्रिया दिनुहोस्