सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, भदौ १० । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने भएको छ ।

बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो।

यस्तै बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरूद्ध पनि अदालत जाने निर्णय गरेको छ।

माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो। तर सचिवालय त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

कारबाहीमा परेका नेपालसहितका नेताहरुको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरूद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो।

बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्