नेकपा एकीकृत समाजवादीमा गएका नेतालाई निष्कासन गर्ने एमालेको निर्णय

काठमाडौं, भदौं १० । नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वमा नव गठित नेकपा ( एकीकृत समाजवादी) पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत सजवादी पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

वैठकले एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाएर निर्वाचन आयोगलाई दिने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा गएका नेता–कार्यकर्तालाई एमालेमै फर्किन आग्रह पनि गरेको ज्ञवालीले जानकारी दिए ।

नेकपा एमालेले पार्टी विभाजनविरुद्ध कानुनी प्रतिवाद गर्ने जनाएको छ । बैठकले पार्टी विभाजनविरुद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।पार्टीले कारबाही गरेको व्यक्तिहरूलाई सनाखत गराएर निर्वाचन आयोगले पार्टी विभाजनलाई सहयोग गरेको भन्दै एमालेले यसको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।

निर्वाचन आयोगले कानुनअनुसारको काम गर्नुपर्ने भए पनि पार्टी विभाजनमा सहयोग गरेको एमालेको ठहर छ ।बुधबार मात्र एमालेबाट छुट्टिएर गएका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)दल दर्ता भएको छ । जसमा एमालेबाट ५५ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना संघीय सांसदले सनाखत गरेका छन् ।

यस्तै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेकोमा असन्तुष्टि व्यक्त गरेको छ । सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भए पनि उनले निष्पक्ष भूमिका ननिभाएको एमालेको निष्कर्ष छ । सभामुखको भूमिकाको विषयलाई लिएर एमालेले संसदीय हिसाबले आफ्नो काम गर्ने पनि नेता ज्ञवालीको भनाइ छ ।

त्यसैगरी एमालेले १० बुँदे सहमतिलाई शीघ्र, प्रभावकारी र व्यवस्थित ढंगले कार्यान्वयन गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले विधान अधिवेशन, महाविधेशन र वडा तहहरूको अधिवेशनलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने निर्णयलाई अनुमोदन गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यता नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको समय सरेको छ । यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो । उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर १०–१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एमाले नेता निरु पालले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिइन् । उनले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको बताइन् ।

नेता पालका अनुसार केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । भदौ १६ देखि २० सम्म पार्टी मा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ ।

बैठकले भदौ २५ र २६ गते स्थायी कमिटी बैठक तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको नेता पालले बताइन् । उनका अनुसार कार्तिक ६ गते देशभरका वडाहरुको र कार्तिक ९ गते पालिकाहरुको अधिवेशन आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्