अफगानिस्तानमा तालिबानले कुटे पत्रकार, डर र त्रास कायमै
काठमाडौं, भदौ १० । अफगानिस्तानमा अहिले पनि डर त्रास कायमै रहेको छ । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।
अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।
गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।
यता अफगानिस्तानमा तालिबानले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् । अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकारलाई तालिबानले बन्दुकले पिटेका हुन् । टोलो न्युजले ट्वीट गर्दै आफ्ना दुईजना पत्रकार कुटिएको जनाएको छ ।
पत्रकार जैर याद र बीस मजीदी अफगानिस्तानको राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार मजदुरहरुको भिडियो बनाइरहेका बेला तालिबानले उनीहरुमाथि कुटपिट गरेको बीबीसीले जनाएको छ ।
पत्रकार जैर यादले आफूहरुले पत्रकार परिचय पत्र देखाउँदा पनि थप्पड हानेको बन्दुकले पिटेको बताएका छन् । उनले तालिबानले आफूहरुको मोबाइलसमेत लिएको बताए ।
प्रतिक्रिया दिनुहोस्