ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण नयाँ दल गठन गर्न बाध्य भयौं : माधव नेपाल

काठमाडौं, भदौ १० । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन्।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताए। नेता नेपालले भने, ‘ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राइभेट कम्पनी बनाएपछि विद्रोह गर्नेबाहेक अर्को विकल्प रहेन। इतिहासमा नेपाल र विश्वमा यस्ता घटना भएका धेरै उदाहरण छन्।’

उनले एमालेबाट पीडित रहेका नेता–कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै नयाँ पार्टी गठन भएको बताए। ओलीले पार्टीमा भेदभाव र अन्यायपूर्ण व्यवहार गरेको र नेकपा विभाजनमा भूमिका खेलेको आरोपसमेत लगाए। साथै अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दक्षिणपन्थी भासबाट जोगिएर नयाँ दल गठन गरी नयाँ अध्यायको थालनी गरेको बताएका छन्।

सो पार्टीले राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरु गरेका छोैं। केपी ओलीको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धारको नयाँ पार्टी दर्ता गरेका छौं।’

केपी ओलीले माक्र्सवाद र बहुदलीय जनवादलाई तिलाञ्जली दिएर पार्टीलाई निजी कम्पनीमा रूपान्तरण गरेपछि विद्रोहको विकल्प नरहेको उनको भनाइ छ। उनले यहाँसम्मको यात्रा अति नै कठिन रहेको पनि बताए। अध्यक्ष नेपालले भने, ‘नयाँ यात्रा आरम्भ गर्न थालेका छौं। नेपालको कम्युनिस्ट आन्दोलन मात्रै होइन, विश्वकै सन्दर्भमा पार्टी गठन–पुनर्गठन हुने क्रम नयाँ होइन।’

उनले एमालेको संस्थापक र मूल नेता आफू नै रहेको बताए। उनले पार्टीलाई उचाइमा लैजान पनि आफूहरूले ठूलो योगदान दिएको दाबी गरे। नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) बुधबार निर्वाचन आयोगमा दर्ता भएको थियो। दल दर्ता भएपछि पार्टीले पहिलोपटक पत्रकार सम्मेलन गरेको हो।

प्रतिक्रिया दिनुहोस्