नेपालप्रति ओलीको भनाई : पार्टीमा हुँडलो मच्चाए, अहंकारका कारण नयाँ पार्टी खोले, हामीले लखेटेर निकालेका थिएनौँ

काठमाडौं, भदौं १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने तहमा पुगेको आरोप लगाएका छन् ।

च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले यस्तो आरोप लगाएका हुन् । उनले नेपालले आफ्नो अभिाभारा बिर्सिएको आरोप समेत लगाए । उनले नेकपा ९एकीकृत समाजवादी० पार्टी खोलेका माधव नेपालहरुले पार्टीमा हुँडलो मच्चाएर गएको बताएका छन् ।

‘हिजोसम्म हामीसँगै भएका साथीहरु आन्दोलन छोडेर, आन्दोलनको अभिभारा बोक्ने पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन्,’ उनले भने, ‘केहीका स्वार्थ र अहंकारले नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नु भएको छ ।’

उनले केन्द्रदेखि पालिकासम्म एमालेको पकड रहेको अवस्थामा माधव नेपालहरुले हुँडलो मच्चाउँदा क्षति व्यहोर्नुपरेको पनि बताएका छन् ।

उनले अब एमालेलाई एकतावद्ध बनाएर अघि लैजाने पनि दाबी गरे । ‘हामी एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउनेछौं । नयाँ प्रतिवद्धता र अठोटका साथ उपस्थित भएका छौं’, उनले भने, ‘यो ज्यादै खुशीको कुरा हो । हामी ठूलो संख्यामा एकतावद्ध भएर आएका छौं । आगामी विजय यात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौं ।’

एमाले विभाजित भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । बुधबार मात्रै नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

प्रतिक्रिया दिनुहोस्