अब भदौ १३ पछि मात्रै मन्त्रिपरिषद् विस्तार, माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो

काठमाडौं, भदौ १० । माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तागठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको हो । माधवको दल दर्ता नभएसम्मका लागि गठबन्धनले मन्त्रिपरिषद्मा बिस्तार रोकेको थियो ।

गत बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । यता सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि मात्रै हुने भएको छ ।

गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनुपर्नेछ । किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो । यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ । स्रोतका अनुसार संख्यामा सहमति जुटे पनि मन्त्रालयगत भागबण्डा भने अझै मिलिसकेको बुझिएको छैन । काँग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिइसकेको छ । अब भौतिक पूर्वाधार र सहरी विकासमा एकीकृत समाजवादी र जसपा पाउनेछन् ।

तर, कसले कुन मन्त्रालय पाउने भन्नेमा टुंगोमा पुगिनसकेका जसपा स्रोतले बताएको छ । माधव नेपालले रोजको मन्त्रालयमा आफूहरुले अड्डी नसक्ने जसपा स्रोतको भनाइ छ । यसैबीच असार २९ मा सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवाले भदौ १४ मा मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।

२९ गते काँग्रेस र माओवादीबाट दुई–दुई मन्त्री बनाएका साउन १० मा एकजना राज्यमन्त्री नियुक्त गरेका थिए । करिब साढे १ महिनादेखि प्रधानमन्त्री देउवाले ५ जना मन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

गठबन्धनमा सामेल माधव नेपाल र उपेन्द्र यादवको पार्टीगत लफडाले देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् । लामो समयसम्म पनि मन्त्रिपरिषद्ले पुर्णता नपाउँदा सरकारको चर्को आलोचना भने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्