चार महिनाभित्रै प्रचण्ड र माधव नेपालको पार्टीबीच एकीकरण, मुलुककै ठूलो दल बन्ने दाबी

काठमाडौं, भदौं ९ । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् ।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ ।’

‘प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ’, उनले भने, ‘त्यसपछि हाम्रो पार्टी मुलुककै ठूलो पार्टी बन्छ ।’ उनले आफूहरु एकल अध्यक्ष, बहुमतीय प्रणालीमा नेकपा एकीकृत समाजवादी जाने बताए । त्यसका लागि पार्टीमा १७ जना पदाधिकारी राखिने पनि जानकारी दिएका छन् ।

चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताएका छन् । ‘सबै मान्छे युद्धको मैदानमा रहँदैनन् नि’, उनले थपे, ‘माधव नेपालसँग हामी छौं । अब हामी अघि बढेका छौं ।’ नेकपा एकीकृतमा अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।

यता राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए ।

नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन ।

प्रतिक्रिया दिनुहोस्