आयोगमा नेताहरुको सनाखतको काम सकियो, दल दर्ताको प्रमाणपत्र आजै

काठमाडौं, भदौ ९ । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए ।

नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन ।नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममानेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउने पक्षमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्।नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्।

यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्