नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौँ , ८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।
नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग २ सिरिज भदौ २८ देखि असोज ४ गते सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई दुई खेल खेल्नेछन् ।
त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग २ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।
नेपाल र पीएनजीबीचको खेल भदौ २० र २३ गते ओमानमै हुनेछ । पीएनजी भने टी २० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी २० विश्वकपको पहिलो चरणको खेल हुनेछ ।
नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीविरुद्ध खेल महत्वपूर्ण हुने बताएका छन् । त्यस खेलबाट नेपालले टिम सेट गर्ने र प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपालले सन् २०२० मा फेब्रुअरीमा नेपालमै लिग २ को पहिलो सिरिज खेलेको थियो । त्यसको डेढ वर्ष भन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो ।
यसअघि मार्चमै ओमानमै सिरिज हुने भनिएपनि कोरोनाको कारण स्थगित भएको थियो । यस्तै जुलाईमा नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको सिरिज स्पेनमा गराउने तयारी गरेपनि नामिबियाका खेलाडीमा कोरोना संक्रमण भएपछि भ्रमण गर्न सम्भव नभएकाले २०२२ जुलाईसम्मको लागि स्थगित भएको छ ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल कप्तान , दीपेन्द्र सिंह ऐरी , उपकप्तान कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोबल रहने छन् ।

प्रतिक्रिया दिनुहोस्