देउवाको विकल्प खोज्न इतरपक्ष एकै ठाउँमा

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै इतरपक्षका नेता एकै ठाउँमा उभिएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प र महाधिवेशनको रणनीति तय गर्न इतरपक्षले सक्रियता देखाएको हो।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा। रामशरण महतलगायतका नेताहरूले गौशालास्थित अनुपम फुडल्यान्डमा महाधिवेशन रणनीतिबारे छलफल गरेका हुन्। छलफलमा देउवाको विकल्पमा सभापतिको साझा उम्मेदवार उठाउने, क्रियाशील सदस्यताको विवादलगायतका विषयमा छलफल भएको हो।

वरिष्ठ नेता पौडेलका अनुसार भेलामा भदौ १८ बाट सुरु हुन लागेको तल्लो तहको अधिवेशन अगाडि टुंग्याउनुपर्ने क्रियाशील सदस्यतालगायतका विषयमा छलफल भएको थियो। भेलामा विशेषगरी क्रियाशील सदस्यता धाँधलीरहित हुन नसकेको र सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने विषयमा छलफल भएको पौडेलले जानकारी दिए।

‘क्रियाशीलकै विषयमा छलफल केन्द्रित भयो। निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाउने गरी सदस्यता वितरणमा धाँधली भएको छ। यस्तो अवस्थामा बचाउने, क्रियाशील सदस्यताको छानबिनलाई कसरी पारदर्शी बनाउने, क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्नेलगायतका विषयमा छलफल भयो,’ पौडेलले नयाँ पत्रिकासँग भने। पौडेलले सभापतिको उम्मेदवार तय गर्ने विषयमा भने छलफल निरन्तर रहेको जानकारी दिए।

महाधिवेशन अनिश्चित भएपछि केही समय निष्क्रिय बनेको इतरपक्ष महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएसँगै सक्रियता देखाएको छ। तल्लो तहको अधिवेशन सुरु हुनुपूर्व भएको भेललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्