काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी , अब कस्तो बन्ला ‘मोडालिटी’ ?
काठमाडौं, भदौं ७ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै गएसँगै निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।
कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थामा पनि मानिसको गतिविधि लापरवाहपूर्ण नै रहेको जनाउँदै पुनः निषेधाज्ञा थप्नु पर्ने निष्कर्षमा आफूहरु रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
उनले विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताए । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो ।
संक्रमणदर बढेको भन्दै दोस्रो पटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । प्रजिअ निरौलाका अनुसार अन्य मोडालिटी फेरबदलबारे छलफल भएको छैन । ‘आज सरोकारवाला निकायहरुसँग संक्रमणदर र मृत्युदरको समीक्षा गर्दैछौं । त्यसपछि तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको बैठक बस्छ । त्यसपछि मात्रै निषेधाज्ञाबारे निर्णय हुनेछ’, प्रजिअ निरौलाले भने ।
पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्