काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु, विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा

काठमाडौं , भदौ ६ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।
विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । तर, यस अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउन पनि बाइडेनलाई दबाब दिइरहेका छन् । बेलायती रक्षामन्त्री वालेसले सबै विदेशी नागरिकलाई यसै महिनाको अन्त्यमा निकाल्न संभव नहुने प्रक्रिया दिएका छन् । उनले कुनै पनि देशले यस्तो गर्न नसक्ने बताए ।

अमेरिकाले सैनिक बर्हिगमनको समयसीमा थपेमा बेलायतले साथ दिने उनले बताए । युरोपेली युनियनका विभाग नीति प्रमुख जोसेफ बोर्रेलले ६० हजार जनतालाई महिनाको अन्त्यसम्म निकाल्नु गणितीय रुपमा असम्भव रहेको बताए ।

उनले अहिलेसम्म ईयुले जागिर दिएका १ सय ५० देखि ५ सय अफगानीहरुलाई मात्रै निकाल्न सकिएको र यो संख्याअपर्याप्त रहेको बताए । ‘प्लेनहरु उडिरहेका छन् र मानिसहरु पीडामा छन्,’ उनले भने ।

एएफपीसँग कुराकानी गर्दै उनले युरोपेली देशका नागरिकलाई सहयोग गर्ने अफगानीहरु समेत विमानस्थल छिर्न नपाएको गुनासो अमेरिकी सेनासँग गरे । अमेरिकीहरुले काबुल विमानस्थलमा सुरक्षा दिइरहेको र त्यसक्रममा उनीहरुले युरोपका लागि सहयोग गर्ने अफगानीको प्रवेशमा पनि अवरोध गरेको उनको आरोप छ ।

अमेरिका तथा युरोपेली देशहरुले आफ्ना नागरिक, आफुलाई सहयोग गर्ने अफगानी र जोखिममा रहेका अफगानीहरुलाई उद्धार गर्ने जनाएका छन् । अमेरिकाले यस्ता सहयोगीहरुलाई शरण दिनका लागि आफ्नो देशमा विशेष भिसा कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । तालिवानले काबुल कब्जा गरेयता, अमेरिका तथा युरोपेली देशका सेनाको सहयोगमा काम गरेका अफगानीहरु निकै त्रस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्