बैतडीमा पहिरोले दुई घर पुरिए
काठमाडौँ ,४ भदौ । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय हर्क कुँवर र हिक्मत कुँवरको घर पहिरोले पुरिएको हो । पहिरोले घर पुरिएसँगै हर्कका तीन भैँसी, गाई र १० वटा कुखुरा मरेका छन् भने खाद्यान्न, लत्ता कपडा सबै क्षति भएको छ ।
अर्का पीडित हिक्मतका एक गाई, पाँच वटा बाख्रा र १५ कुखुरा पहिरोमा पुरिएर मरेका छन् । तर पहिरो गएको थाहा पाएपछि दुवै जनाका परिवार भागेर ज्यान बचाउन सफल भएका हुन् । अहिले विस्थापीत परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका इलाका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्