परिवर्तन भयो माधव नेपाल र महन्थ ठाकुर दुबैको पार्टीको नाम, आफ्नो पार्टीसँग मिल्ने नाम नराख्न एमालेको माग

काठमाडौं, भदौं ४ । माधवकुमार नेपाल र महन्थ ठाकुर दुबै पक्षको पार्टीको नाम परिवर्तन भएको छ । दुबै पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन् ।

मंगलबार नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएको थिए । तर, ती नामहरू दर्ता गर्न नमिल्ने भएपछि दुबै पक्षले नाम परिवर्तन गर्ने भएका हुन् । नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बनाउन निवेदन दिएको छ ।

आयोग उच्च स्रोतका अनुसार नेपाल पक्षले बिहीबार सो नाम राखेर नयाँ निवेदन पेश गरिसकेको छ । ‘उहाँहरुले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नाम बनाउन हिजो नै निवेदन दिनु भएको छ,’ स्रोतले भन्यो, ‘आयोगको सचिवालयमै यसबारे छलफल भइसकेको छ । उहाँहरु त्यसको बाँकी डकुमेन्ट लिएर आजै आयोग आउने बताउनु भएको छ ।’

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाका आधारमा एमाले जोडिएको र जसपा जोडिएको पार्टीको दल दर्ता नहुने सम्भावना देखेर उनीहरुले नाम परिवर्तन गरेका हुन् । ‘मंगलबार आयोगमा दर्ता भएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादी दुबै नाम परिवर्तन भइसकेको छ,’ आयोग स्रोतले भन्यो ।

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले आफ्नो पार्टीसँग मिल्ने नाम नदिन निर्वाचन आयोगमा बिहीबार निवेदन दिएका थिए । यस्तै नेकपा एमालेले पनि आफ्नो दलको नाम जोडेर कुनै नाम नदिन निर्वाचन आयोगमा शुक्रबार निवेदन दिइसकेको छ । महन्थ ठाकुर पक्षले भने परिवर्तन गर्ने नाम खोजी गरिरहेको छ ।

यता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि गरेको प्रस्तावित नाम परिवर्तन गर्ने भएका छन्। निर्वाचन आयोगको सुझाबअनुसार नाम परिवर्तन गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

आयोगले दर्ता भइसकेका पार्टीको नामको अगडि या पछाडि अन्य शब्द थप गरेर नाम नराख्न सुझाएपछि नाम परिवर्तन गरिएको छ। नेता कर्णका अनुसार नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तय भएको हो। नयाँ नामबारे शुक्रबार नै आयोगलाई जानकारी गराउन लागिएको उनले जानकारी दिए।

यता नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् । उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्