नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने , अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

काठमाडौं, भदौं ४ । नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ ।

अध्यक्ष केपी ओलीसँग विवाद बढेपछि नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गर्दै नेकपा एमाले समाजवादी नाम राख्न गरेको प्रस्ताव निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।

यसैगरी, अध्यक्ष उपेन्द्र यादवसँगको विवाद नसुल्झिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले जसपा लोकतान्त्रिकको नाममा दल दर्ता गराउन गरेको प्रयास पनि विफल भएको छ ।

ती दुई नाममा दल दर्ता गरिपाउँ भन्दै नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार आयोगमा यसअघि नै दर्ता कायम भएका दलसँग जुध्ने गरी वा कोष्ठक भित्र अर्को पुच्छर झुण्ड्याएर पनि नयाँ दल दर्ता गर्न नपाइने आदेश सर्वोच्च अदालतबाट भएकाले एमाले समाजवादी र जसपा लोकतान्त्रिकको नाममा दल दर्ता हुन नसक्ने भएको हो ।

सरकारले ल्याएको नयाँ अध्यादेशअनुसारको नियमावली बिहीबार राजपत्रमा निस्कनेबित्तिकै दुबै दलका नेताहरुलाई सम्पर्क गरेर आयोगले अलग्गै नाम लिएर आउन तथा नियमावलीमा माग भएबमोजिमको अनुसूची विवरण पेश गर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्