नेपालसहित १४ सांसदलाई कारवाही गर्न एमालेको सभामुखलाई दबाब

काठमाडौं , भदौ ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो गर्न सभामुखमाथि दबाब दिएको छ ।

एमालेका प्रमुख सचेतकसहितकाले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही तत्काल अघि बढाउन आग्रह गरेका हुन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा पूर्वगृहमन्त्री तथा सांसद खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, पार्वती गुरुङ, भगवती न्यौपाने, शान्ता गुरुङसहितका ओलीनिकट सांसदहरू बिहीबार सभामुखको कार्यकक्ष पुगेका हुन् ।

उनीहरूले नेपाललाई नेकपा एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न दबाब दिएका हुन् । उनीहरूले करिब सवा एक घण्टा सभामुखसँग कुराकानी गरेका थिए । सभामुखले भने विधि, प्रक्रियाअनुसार आफूले निर्णय गर्ने जवाफ दिएको एमालेका प्रमुख सचेतक भट्टराईले बताए ।

गएको मंगलबार एमालेले नेपासहितका १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो ।माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी)दर्ताका लागि निवेदन दिइसकेको छ ।  राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ताको प्रक्रिया थालेको हो

प्रतिक्रिया दिनुहोस्