एमाले फुटेकै छैन, एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो :  अध्यक्ष ओली

काठमाडौं, भदौ ३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले एमाले विभाजित नभएको दाबी गरेका हुन्।

पार्टी विभाजन हुनु र टुक्रिनु फरक कुरा हुन्, उनले अगाडि भने, एमाले फुटेकै छैन, एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता गराएको भोलिपल्ट ओलीले यसो भनेका हुन्।

अध्यक्ष ओलीले नेता नेपालले एमालेलाई बाह्य शक्तिले फुटाइदिएको पनि बताएका छन्। उनले नेता नेपालले उनकै विवेक अनुसार नेकपा समाजवादी दर्ता गरेर अध्यक्ष हुन गएको पनि टिप्पणी गरेका छन्।

उनले वरिष्ठ नेता नेपाललाई एमालेबाट कुनै हालतमा निकाल्ने शक्ति सक्रिय भएको पनि बताए। यता ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए ।

भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने बताए ।उनले नेपालमा कलाको जीवित संग्रहालय रहेको भन्दै कलाको संरक्षणले पनि ठूलो उपलब्धी हासिल गर्ने बताए ।

आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब किवासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्