शुक्रबारसम्म अफगानिस्तानबाट एक हजार नेपाली फर्किने, अहिलेसम्म कति फर्किए ?
मंगलबार बिहान एक सय १८ र राति ८४ जना तथा बुधबार बिहान ६१ र अपराह्न २५ नेपाली स्वदेश फर्किएका छन्
काठमाडौं, भदौ ३ । अफगानिस्तानको काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसन कार्यालय र युनिसेफ कार्यालयको सुरक्षाका लागि खटिएका चार सय ७० जना तथा गैरकानुनी रूपमा त्यहाँ पुगेकाबाहेक नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । ग्रिन जोनमा कार्यरत करिब हजारजना नेपालीमध्ये शुक्रबारसम्म सबैले काबुल छाडिसक्नेछन् ।
बुधबार साँझसम्म दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् भने आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न कूटनीतिक नियोगसँग निरन्तर प्रयास र समन्वयमा बुधबार ८६ जना र मंगलबार दुई सय चारजना आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार बिहान एक सय १८ जना र राति ८४ जना तथा बुधबार बिहान ६१ जना र अपराह्न २५ जना स्वदेश आइसकेका हुन् । स्वदेश आएका सबैजनालाई अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा कोभिड– १९ को परीक्षणसहित आवश्यक व्यवस्था गरिएको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेबसाइटमा बुधबार साँझ ५ बजेसम्म दुई सय ९६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
यीमध्ये १६ जना आइसकेका छन् भने बाँकी दुई सय ८० जना आइपुगेका छैनन् । यीमध्ये कति नागरिकले काबुल छाडेको र कति त्यहीँ रहेको भन्ने यकिन छैन ।
प्रतिक्रिया दिनुहोस्