किन स्थगित भयो त लुम्बिनी प्रदेश सभा बैठक ?

 

काठमाडौँ , ३ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्मको लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनि तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।
एमाले प्रमुख भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिइने बताए ।
नेकपा विभाजनपछि गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी बिमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् । वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्