२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले, यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष
काठमाडौं, भदौं ३ । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ ।
यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा ९माले० पार्टी गठन गरेका थिए । अहिले २४ वर्षपछि एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले अध्यक्ष ओलीसँग विधि र पद्धतिलाई मुख्य एजेन्डा बनाउँदै पुनः एमाले विभाजित गरेका छन् ।
पार्टी विभाजन गरेको चार वर्षपछि गौतम पुनः एमालेमै फर्किएका थिए । त्यसपछि २०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका नेताहरुले जनजातिको मुद्दामा पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेका थिए ।
बुधबार बिहान मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ ।
१४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै गएको देखिन्छ ।
उनीहरूबीचको सहकार्य र संघर्ष २०४५ सालदेखि देखिनेगरी सुरु भएको छ । २०४८ सालमा झापा क्षेत्र ६ र २०५९ सालमा झापा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए ।
नेता नेपालकै प्रस्तावमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारमा गृह मन्त्रालयजस्तो महत्वपूर्ण जिम्मेवारी पाउन सफल ओली त्यसयता नेपालको प्रमुख सहयोगीमध्येकै एक हुन् । त्यस्तै, २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए ।
दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा एमालेको नेतृत्व गर्दै ओलीलाई माधव नेपालले उपप्रधान एवं परराष्ट्रमन्त्री बनाएका थिए । त्यसबेला जनआन्दोलनकै विरोधमा बोलेका ओलीलाई नभएर अमृत बोहोरालाई सरकारमा पठाउनुपर्ने पक्षमा धेरै नेता थिए ।
तर, नेपालले पार्टी बैठकबाटै निर्णय गरेर ओलीलाई सरकारमा पठाए । नेपालको महत्वपूर्ण सहयोगमा ओली सरकारमा पुगे पनि एमालेबाट २४ असोज २०७२ मा नेपालको ३८औं प्रधानमन्त्रीका रूपमा पहिलो पटक प्रधानमन्त्री भएका ओलीलाई नेपालको सहयोग नभएको नेताहरू बताउँछन् । तत्कालीन नेकपा माले संस्थापकमध्येका ओली २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका थिए ।















प्रतिक्रिया दिनुहोस्