नयाँ दल गठनसँगै यी नेताले छाडे माधव नेपालको साथ

काठमाडौं, भदौ २ । माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेका स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।

यसअघि नेता नेपालसँगै रहेका स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन् भने बाँकी नेताहरुले नेपाललाई साथ दिएनन् । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् ।

उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् । दोस्रो पुस्ताका नेताहरुले साथ छाड पनि वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णयमा पुगेका हुन् । लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दलमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पु¥याएर दल दर्ता गर्न अघि बढेका छन् ।

केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्