नयाँ पार्टी दर्ताको कागजपत्र तयार पार्दै नेपाल समूह, भ्याए आजै नभए भोलि आयोग जाने

काठमाडौं, भदौ २ । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि राजनीतिक र कानुनी तयारी थालेको छ। नेपालनिकट नेताहरू नाम र चुनाव चिह्नको टुंगो लगाउन छलफलमा जुटेका छन्।

बानेश्वरस्थित अर्याल होटेलमा नेपालनिकट नेताहरू पार्टी गठनका विषयमा छलफलमा जुटेका हुन्। नेकपा एकीकृत, एमाले समाजवादीलगायतका नाममा छलफल भएको नेता विरोध खतिवडाले बताए । कलम, किताबलाई चुनाव चिह्न बनाउनेबारे छलफल भएको उनले जानकारी दिए।

निर्वाचन आयोगमा ती नाम र चिह्न अरूले लिएका छन् वा छैनन् भन्ने जानकारी लिने काम भइरहेको उनले बताए । ‘केही नाम र चुनाव चिह्नबारे छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘ती नाम र चिह्न कसैले लिएको छ कि छैन भन्नेबारे बुझ्दै छौँ ।’

पार्टी दर्ताका लागि कानुनी तयारी भइरहेको उनले बताए। ‘कागजपत्र तयार हुँदै छन्,’ उनले भने, ‘सबै कागजपत्र तयार भएपछि भ्याए आजै नत्र भोलिसम्म पार्टी दर्ता गर्छौँ ।’

यता यादव पक्षसँग विमति जनाउँदै पूर्ववर्ती ओली सरकारलाई समर्थन गर्न पुगेपछि कार्वाहीमा परेर दलविहीन बन्न पुगेको जसपा ठाकुर पक्षले पनि नयाँ दल दर्ताका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

यो समूहले ठाकुरको अध्यक्षतामा जसपा नेपाल लोकतान्त्रिक नामको दल दर्ता गराउने तयारी पूरा भएको नेता शरतसिंह भण्डारीले जानकारी र्दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्