राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश अध्यादेश जारी

काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले अघि बढाएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गरेकी हुन्। मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्ने छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको जानकारी दिए ।  योसँगै  नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो ।

यो अध्यादेश जारीसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।

जसपाको ठाकुर समूहले पार्टीको नाम नै तय गरिसकेको छ । ठाकुर समूहका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक’ हुनेछ ।

पार्टी अध्यक्ष ठाकुर रहनेछन् । दलका अन्य पदाधिकारी र केन्द्रीय सदस्य अनि संगठन संरचनाबारे पनि छलफल जारी रहेको छ । त्यस्तै एमालेको माधवकुमार नेपाल पक्षले पनि नयाँ राजनीतिक दल दर्ताको तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्