दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति, पर्खाइमा माधव समूह र महन्थ ठाकुर

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने भएकी छिन् ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको संसोधन अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । मंगलबार राष्ट्रपति कार्यालयले अध्यादेश अध्ययनका क्रममा रहेको बताएको थियो ।

अध्यादेशमाथिको अध्ययन सकिएको र आज नै भण्डारीले अध्यादेश जारी गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यता राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले पनि भण्डारीले अध्यादेश जारी गर्ने बताएका छन् । ।

सरकारले संसदीय दल या केन्द्रीय कमिटी मध्ये एउटामा २० प्रतिशत सदस्य भए पनि पार्टी विभाजन गर्न सक्नेगरी ऐन संशोधन गरेर अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको हो ।

यता एकातिर सत्ता गठबन्धनमा रहेको एमालेका माधव कुमार नेपाल समूहलाई नयाँ पार्टी खोल्न सजिलो बनाउने गरी अध्यादेश ल्याएको सरकारको सत्तारुढ गठबन्धन बाटै चर्को बिरोध भने भइरहेको छ । संसदलाई कामविहीन बनाएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आएको सरकारले ओलीकै पद पछ्याएको भन्दै आलोचना भइरहेको छ ।

यसैबीचअध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल समूह) नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो ।

त्यसैगरि निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्साहित बनेका ठाकुर राष्ट्रपतिको निर्णयको पर्खाइमा रहेका हुन् ।

सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले जारी गर्ने वित्तिकै ठाकुरले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्