निर्वाचन आयोगमा एमालेले पठायो नयाँ केन्द्रीय कमिटी, ५७ जना थपेर २६० पुर्‍याइयो

काठमाडौं, भदौ १ । नेकपा एमालेले केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेले मंगलबार २६० जना सदस्यको सूची आयोगमा पठाएको हो ।स्रोतका अनुसार निर्वाचन आयोगमा बुझाइएको नाममा माधवकुमार नेपाल समूहमा रहेका कसैको पनि नाम काटिएको छैन । प्रकाश ज्वालाको मात्रै नाम काटिएको स्रोतले जानकारी दिएको छ ।

नेकपा एमालेमा यसअघि २६४ केन्द्रीय सदस्य थिए । मंगलबार दिउँसो बसेको स्थायी समिति बैठकले नयाँ सूची पठाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेले नयाँ सूची अध्यावधिक गरेको हो ।

केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो । एमालेले यसअघि २०७७ चैत ७ गते माओवादी छोडेर एमाले प्रवेश गरेका २३ नेताहरुलाई थपेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरण गरेको थियो । त्यसबेलाको संख्या २ सय ६५ थियो ।

यससँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भन्दै एमाले नेताहरुले चेतावनी दिएका छन् । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबाट नेकपा एमाले र जनता समाजवादी पार्टी बढी प्रभावित बन्ने टिप्पणी हुन थालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्