प्रतिनिधिसभा बैठक : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड

काठमाडौं, साउन ३२ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा छन् भन्ने जानकारी सरकारले संसद्समक्ष दिनुपर्ने र उनीहरुलाई चाँडै नेपाल फर्काउनुपर्नेमा जोड दिए। उनले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गर्न सरकारले बनाएको समितिले लामो समयसम्म पनि प्रतिवेदन नदिएकामा आक्रोश व्यक्त गरे।

सांसद मनकुमारी जिसीले आफगानिस्तानमा रहेका नेपाली समस्यामा हुँदा पनि सरकार चुप लागेको र दार्चुला घटनामा उच्चस्तरीय समिति अझैसम्म बन्न नसकेको औँल्याइन्। सांसद रेखाकुमारीले अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि धेरैले आआफ्ना नागरिक फिर्ता बोलाए पनि सरकारलाई अझै आफ्ना नागरिकको अवस्था के छ भन्नेसमेत जानकारी नभएको बताइन्।

सांसद विमला नेपालीले सर्बोच्च अदालतले आर्थिक अवस्थाका आधारमा र एकपटक मात्रैका लागि आरक्षण दिने निर्णय संविधान र ऐनमा बाझिएको तथा यसले दलित, मधेशी, महिलालगायतको अपमान गरेको बताए।

सांसद विमला विकले दार्चुला घटना भएको १८ दिन हुँदा पनि नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसकेको बताइन्। सांसद भरकुमार शाहले कूटनीतिक पहल गरेर अफगानिस्तानबाट नेपाली फर्काउनुपर्नेमा जोड दिए।

सांसद भवानीप्रसाद खातुनले बेलायती र गोर्खा सैनिकबीच समान व्यवहारको माग राख्दै पटकपटक आन्दोलन भएर विगतमा विभिन्न समझदारी भए पनि त्यसको कार्यान्वयन नभएकाले सरकारको ध्यानाकर्षण गराए।

सांसद भीमसेनदास प्रधानले भूमाफियाले बालुवा खानी र प्लटिङ गर्दा वातावरण क्षय भएकाले काठमाडौँ उपत्यकामा हरियाली मासिएको बताए। सांसद महेन्द्रकुमारी लिम्बूले अँध्यारोलाई उज्यालो बनाउन कुलमान नियुक्ति गरेको र सरकारले खोप ल्याउन पहल गरिरहेको बताइन्।

सांसद महेश बस्नेतले सरकारले अझैसम्म अफगानिस्तानबाट नेपाली फर्काउन ढिलाइ गरिरहेकाले यसअघिको सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गरेको कुराबाट सिक्नुपर्ने बताए।

सांसद महेश्वरजंग गहतरातले सडक बनिसकेका स्थानमा पुल चाँडो निर्माण सम्पन्न गरेर हुलाकी राजमार्ग चालू हुनुपर्नेमा जोड दिए। सांसद मिना सुब्बाले समान हकको माग गर्दै अनशनमा रहेका गोर्खा नेपालीको स्वास्थ्य अवस्था नाजुक भएकाले त्यसमा सरकारले विगतमा भएका समझदारी कार्यान्वयन गर्न कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिइन्।

सांसद मिना पाण्डेले सरकारले अफगानिस्तानमा भएका नेपालीका चाँडो उद्धार गर्नुपर्ने र देशभित्रै बाढी, पहिराको आक्रन्त बनाएका नागरिकको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। सांसद मोहन बानियाँले सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत तथ्याङ्क नभएकाले म्यानपावरको तथ्याङ्कमा भर परेको बताए।

सांसद यज्ञबहादुर सुनुवारले कुनै पनि देशमा सरकार त्यहाँका नागरिकले सहयोग नगरे सत्तामा नटिक्ने र देश नै छाड्नुपर्ने हुनसक्ने अफगानिस्तानबाट देखिएको बताए। सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेट कटौती गरेर पनि विद्यार्थीलाई खोप दिएर कक्षा सञ्चालन गर्नुपर्नै औँल्याए। सांसद रेनुका गुरुङले गोर्खा सैनिकको समान हकका लागि सरकारले वार्ता गनुपर्ने आवश्यक बताए।

प्रतिक्रिया दिनुहोस्