अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा, विजयी भएको दाबी पनि
काठमाडौँ, साउन ३२ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ ।
अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो ।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’
उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।
तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तान गएको जनाइए अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ ।
उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएको विवरणहरु आएका छन् ।
प्रतिक्रिया दिनुहोस्