अफगानिस्तान सरकारले घुँडा टेक्यो, सत्ता हस्तान्तरण हुने, सरकार र तालिबानबीच वार्ता सुरु
काठमाडौँ ,साउन ३१ । अफगानिस्तानको सरकारले संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएको छ ।
तालिबानले राजधानी काबुललाई चारैतिरबाट घेरा हालेपछि सरकार र तालिबानबीच संक्रमणकालीन सरकार गठन गर्ने विषयमा वार्ता भैरहेको तालिबानी पक्ष र सरकारले जानकारी गराएको छ ।
अफगानिस्तानक गृहमन्त्रीले स्थानीय टिभीमा संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने र काबुलमा कुनै किसिमको हमला नहुने बताएका छन् ।
अहिले तालिबानका प्रतिनिधि काबुलस्थित राष्ट्रपति भवनमा गएको समेत मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
उता तालिबानका प्रवक्ताले पनि काबुलमा कुनै किसिमको हमला नहुने स्पष्ट गरेका छन् । प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत तालिबानका लडाकु काबुल शहरभित्र नपसेको र काबुलको बाहिरी इलाकामा नै रोकिन निर्देशन दिएको बताएका छन् ।
उनले सत्ता हस्तान्तरणको विषयमा सरकारसँग छलफल भैरहेको भन्दै काबुलमा रहेका बैंक, कुटनीतिक नियोग र आम जनतालाई कुनै पनि किसिमको हानी हुने काम नगर्ने बताएका छन् । उनले तालिबान लडाकु काबुलका कुनै घर भित्र नपस्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्