निगमको जहाज अफगानिस्तान जाने, तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमडौं,साउन ३१ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै अफगानिस्तानमा रहेका नेपालीमा त्रास उत्पन्न भएको छ । त्यहाँ अहिले विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेको छ ।

यसैबीच राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ ।नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।

आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ ।

‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले बताएको छ । यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइनेछ ।

यता अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ। आइतवार भएको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो।

समितिको बैठकमा आइतवार परराष्ट्र सचिव भरतराज पौड्याल उपस्थित थिए।यसैबीच अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ।  काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्