अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो समिति
काठमाडौं, साउन ३१ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्दै गर्दा काबुलसहितका सहरमा रहेका नेपालीलाई सम्पर्क आउन आग्रह गरिएको छ ।
श्रम मन्त्रालयमा आइतवार बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन भनिएको हो।
वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयका अधिकारीहरुबीचको बैठकले अफगानिस्तानमा अलपत्र नेपालीलाई उद्धारका लागि भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।
त्यसका लागि अफगानिस्तानका नेपाली र तिनका परिवारलाई लक्षित गर्दै सूचना निकाल्ने निर्णय भएको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले बताएका छन्।
यता परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएको छ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतवार बोल्दै परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको बताएका हुन्।
उनका अनुसार त्यहाँ रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि समिति गठन गरिएको हो।उक्त समितिमा सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि सदस्य रहने बताइएको छ।
अहिले काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नआएका नेपालीलाई सम्पर्क गर्न सूचना निकाल्न लागिएको छ।काबुलमा फसेका नेपालीहरुले आफ्नो अवस्थाबारे अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताएका छन्। अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ।
तालिबानका लडाकु राजधानी काबुल पुगेका छन्। तालिबानले तोर्खाम सीमा पार गरेर काबुल छिरेको हो।अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिबान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेको बताएका छन्।
तालिबान लडाकुहरु काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् ।
यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएकाछन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् ।
तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अलजजिराले जनाएको छ । सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्