अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र

काठमाडौँ , साउन ३१ । अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।तालिवानी नियन्त्रणमा एकपछि अर्को अफगानी शहर पर्दै गएपछि त्यहाँ रहेका नेपालीमाझ अन्यौल र त्रासको स्थिति सिर्जजना भएको छ ।

यस्तो बेला परराष्ट्र मन्त्रालयले भने यस्तो जानकारी दिएको हो । परराष्ट्र सचिव भरत पौडेलले अनौपचारिक रुपमा अफगानिस्तानमा काम गर्ने हजारौँ नेपालीहरुबारे नेपाल सरकारलाई जानकारी नभएको र यसबारे यथार्थ बुझ्ने प्रयास गरिरहेको बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार उपस्थित परराष्ट्र सचिव पौडेलले अफगानिस्तानमा १ हजार ४०० नेपालीमात्र औपचारिक रुपमा रहेको तथ्यांक सरकारसँग रहेको जानकारी गाए । साथै १४ हजार नेपाली त्यहाँ काम गरिरहेको भन्ने विवरण समाचारमाध्यममा आए पनि यसबारे नेपाल सरकारलाई जानकारी नभएको उनले बताए।उनले औपचारिक रुपमा गएका १४०० नेपाली राजधानी काबुलमै रहेको र सुरक्षित अवस्थामा रहेको जानकारी दिए।

उनले औपचारिक रुपमा रहेका अधिकांश मानिशहरु अन्तर्राष्ट्रिय नियोग तथा संस्थाहरुमा कार्यरत रहेको जानकारी दिए। सचिव पौडेलका अनुसार परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत दर्ता हुन आग्रह गरेका छन्।

यता विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्