सभामुख सापकोटाले भने- एमसीसीबारे राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ
काठमाडौँ, साउन २७ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् ।
सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोल्दै यस्तो बताएका हुन् । ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ । जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठिक हुन्छ,’ सभामुख सापकोटाले भने ।
एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिले पारित गर्ने हो भनेर प्रश्न गरेका थिए ।
‘राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्,’ सभामुख सापकोटाले भने,‘ हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’
उनले एमसीसी किन प्रतिनिधि सभामा टेबुल नगरेको भन्ने प्रसंगको पनि पत्रकारहरूलाई जवाफ दिएका छन् । ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामखुको निर्णय अन्तिम हुन्छ, तर असिमित अधिकार भए पनि त्यसको सिमित प्रयोग गर्नुपर्छ,’ सभामुख सापकोटाले भने,‘राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने कुरा हो । त्यो भएन भने प्रतिनिधित्व गर्ने दलहरूबीचमा होस्, होइन भने गठबन्धनमा होस् । त्यसपछि उहाँहरूलाई आफ्ना कुरा भन्छु ।’
योसँगै सापकोटाले एमसिसीमा राष्ट्रिय सहमति खोजेका छन् । बुधबार पत्रकारहरूसँग भएको भेटघाटमा उनले एमसिसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताए।
प्रतिक्रिया दिनुहोस्