आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गर्यो : ओली

काठमाडौँ , साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता समेत रहेका ‌ओलीले सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका हुन् ।

उनले विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको बताए । उनले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताए ।

‘सत्तारुढ गठबन्धनका नेताहरु दशैं आए जसरी हौसिएका छन् । दशैंमा केटाकेटी रमाए जसरी रमाएका छन्’, उनले भने, ‘तर एक महिना बित्दा पनि अझै सरकार बनिसकेको छैन ।

उनले सरकारले एक महिनासम्म केही पनि काम गर्न नसकेकाले अहिलेसम्म बधाई र शुभकामना दिइरहेको टिप्पणी गरे ।

यस्तै ओलीले आफूलाई ग्रहदशाले प्रधानमन्त्री नभएको बताएका छन् ।उनले आफू जनताको बलमा प्रधानमन्त्री भएको बताएका हुन् ।

सम्बोधनका क्रममा ओलीले अहिले सत्तापक्षका नेताहरुको चर्को आलोचना गरिरहेका छन् । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री भएको बताए ।

प्रतिक्रिया दिनुहोस्