दार्चुला तुइन घटना : स्थलगत अध्ययनपछि फर्कियो छानबिन टोली

काठमाडौं, साउन २६ । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए ।

दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ पुगेको गृह मन्त्रालयको टोली । तस्बिर स् मनोजरकान्तिपुर

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

धामीको खोजी कार्यका लागि ड्रोनको प्रयोग गरिने बताइएको छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिनेरनदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी छ ।

सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।

सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।

समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौं फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्