ठाकुरको अध्यक्ष पद गयो, जसपाले हटायो १६ नेतालाई कार्यकारिणी समितिबाट

काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।

जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो ।

यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उनले भने ।ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए ।

यता कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । भने जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्